समाचार

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, उपराष्ट्रपतिलाई जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।

पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि आइतबार उनले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् ।

उनलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा मन्त्रीलगायत उच्च सरकारी अधिकारी र सुरक्षा प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । सो क्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीका सम्मानमा २१ तोपको सलामी अर्पण गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार नै राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच आगामी मङ्गलबार द्विपक्षीय भेटघाट हुने जनाइएको छ । राष्ट्रपति भण्डारी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको कातोबीचेमा मङ्सिर १६ देखि २८ गतेसम्म आयोजना हुँदैछ । विश्वका १९६ मुलुकका करीब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रुपमा लिइएको छ ।

उपराष्ट्रपतिलाई जिम्मेवारी

राष्ट्रपति भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गरेले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।