गण्डकी प्रदेश

बुबा आमाको स्मृतिमा एक करोडको सभाहल निर्माण

गलकोट । आफ्ना स्वर्गीय बुबा आमाको स्मृतिमा यहाँका एक परिवारले तिरुपती बालाजीधामको मन्दिर परिसरमा सभाहल निर्माण गरिदिएका छन् ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–३ निवासी समाजसेवी सहदेव राजभण्डारी, आनन्दप्रकाश राजभण्डारी तथा डा शेखर राजभण्डारीले स्वर्गीय बुबा आमाको स्मृतिमा बागलुङ नगरपालिका–४ कुडुँलेमा रहेको तिरुपती बालाजीधाममा ताम्रपत्रले छाएको सभाहल निर्माण गरिदिएको बालाजीधामले जनाएको छ ।

कुडुले मा रहेको तिरुपती बालाजीधाममा आउने भक्तजनको सेवासुविधालाई मध्यनजर गर्दै स्वर्गीय बुबा टीकाबहादुर राजभण्डारी तथा आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा सभाहल निर्माण गरिएको सहयोगदाता सहदेव राजभण्डारीले बताए ।

झण्डै रु एक करोडको लागतमा निर्माण भएको सभाहल ताम्रपत्रले छाइएको छ । तिरुपती बालाजीधामलाई हालै धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नका लागि कलाकौशलले भरिपूर्ण बालाजीधामकोे मन्दिर, नेपालकै पहिलो भूगर्भभित्र शालिग्राम शिला सङ्ग्रहालय निर्माण भइरहेको बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताए ।

धाममा मुक्तिनाथ वेदविद्याश्रमसमेतको कक्षा सञ्चालन भइरहेको छ । “मन्दिरमा मनकारी सहयोगदाताको रकमबाट विभिन्न संरचना निर्माण भएका छन्”, प्रपन्नचार्यले भने । “राजभण्डारी परिवारको पवित्र मनले गरेको सहयोगबाट सभाहल निर्माण भएको हो ।”

मन्दिरमा आउने धार्मिक पर्यटक, भक्तजन र वेदविद्याश्रममा अध्ययनरत बटुकलाई सभाहलले सहज पु¥याउने बताइएको छ । सभाहल पुरातन शैलीमा विभिन्न कलाकौशलको प्रयोग गरेर निर्माण भएको हो । सभाहलको २०० बढी भक्तजन अटाउन सक्ने क्षमता रहेको छ । राजभण्डारी परिवारले मन्दिर तथा वेदविद्याश्रमलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धतासमेत गरे ।