समाचार

शिक्षा, स्वास्थ्य लगायत समग्र नेपालको विकास भारतको हितमा छः भाजपा नेता जोली

काठमाडौँ । भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै नेपालको विकास हुने विश्वास व्यक्त गरे ।

नेपालको ऊर्जा विकासबाट भारतलाई पनि लाभ हुने उनले बताए । उनले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको प्रस्ट पारे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चार पटक भ्रमण गरेर नेपालप्रतिको माया स्पष्ट दर्शाएको बताउँदै उनले आफूले १८ वर्षदेखि नेपालको घटनाक्रमलाई निकट भई नियाँलिरहेको उल्लेख गरे । अर्को प्रसङ्गमा उनले एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आफू नेपाल आएको र यस सम्मेलनबाट नेपालमा पर्यटक आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

दक्षिणी दिल्ली महानगरपालिकाका (साउथ दिल्ली म्युनिसिपालिटी करपोरेशन) प्रमुख नरेन्द्रकुमार चावलाले वातावरण, पानी, महिला सशक्तीकरणजस्ता विषयमा दुवै मुलुक एक भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।