राजनीति

विधान संशोधन मस्यौदामाथि काङ्ग्रेस छलफल जारी, पुनः आईतबार बैठक बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ ।

मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल आज पनि जारी छ । काङ्ग्रेसले यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन छलफल जारी राखेको हो । पार्टी केन्द्रीय कार्य समितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुने भएकाले केन्द्रीय समितिमा संशोधित मस्यौदामाथि व्यापक छलफल भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नरहरि आचार्य, बालकृष्ण खाँण, डा चन्द्र भण्डारी, कमला पन्त, पुष्पा भुसाल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, अतहर मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा पार्टीको नयाँ सदस्यताको व्यवस्था गर्ने वा पुरानो सदस्यतालाई निरन्तरता दिने, पदाधिकारी सङ्ख्या बढाउने वा पुरानो कायम गराउने, जनसम्पर्क समितिको पार्टीको सहभागिता पुरानै ढङ्गले गर्ने वा नयाँ हिसाबले लैजाने भन्ने बारेमा सदस्यहरुले आ–आफ्नो धारणा राखेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विधान संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ । “संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल भएको छ,” प्रवक्ता शर्माले भने । संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक मङ्सिर १६ गते बिहान ११ बजे बोलाइएको छ ।