समाचार

व्यवसायीले मागेकै रुट दिँदा उपत्यका अस्तव्यस्त

ललितपुर । सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी शाखाले जनाएको छ ।

सार्वजनिक सवारीलाई गत वर्षसम्म यातायात व्यवसायी महासङ्घले रुटको अनुमति दिँदै आएको थियो । गतवर्ष सरकारले सार्वजनिक सवारी यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण हुने र कार्यालयबाट नै रुट लिने निर्णय गरेको थियो । कार्यालयले गत वर्षदेखि नै व्यवसायीलाई मागेको रुट दिइरहेको साना ठूला सवारी शाखाका प्रमुख बसन्तप्रसाद पन्थीले बताए । उनले भने, “कुनै रुटमा चाहिनेभन्दा बढी सवारीसाधन चलिरहेका छन्, भने कतिमा व्यवसायी जानै चाहँदैनन् ।”

चक्रपथलगायत काठमाडौँ उपत्यकाको भित्री क्षेत्रमा धेरै सवारीसाधनले रुट लिएका छन् । काठमाडौँबाट नजिकका बस्ती जोड्ने रुटमा भने सार्वजनिक सवारीको सङ्ख्या कम छ । प्रमुख पन्थीले भने, “कतै सवारी बढी हुँदा जाम हुने त कतै सार्वजनिक सवारी नै नहुँदा यात्रुले हैरानी बेहोरिरहेका छन् ।”

काठमाडौँ उपत्यकामा रुटलाई व्यवस्थित गराउन यातायात व्यवस्था कार्यालयले कुन रुटमा कस्ता र कति सवारी आवश्यक छ, भन्ने अध्ययन समेत शुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालको संयोजकत्वमा गठित आयोगले सडकको अवस्था र यात्रुको चापका आधारमा रुट व्यवस्थित गर्न लागेको हो । प्राथमिक, सहायक र सहायता गरेर रुटलाई तीन भागमा रुट वर्गीकरण गरेर कति र कस्ता सवारी आवश्यक छ भन्ने निर्धारण हुने कार्यालयले जनाएको छ ।