प्रदेश 1

धरानमा फनपार्क विवाद चुलिदैँः मालपोतद्धारा भूल स्विकार

धरान । धरानस्थित डिपोट उच्च मा.वि.ले आफुले विद्यालय प्रयोजनका लागि भोगाधिकार पाएको ३ विघा जग्गालाई फनपार्क निर्माण गर्न ३० वर्षको लिजमा इजिराइडर विजनेस ग्रुपलाई दिएको विषयमा वीपी कोइराला स्वाास्थ्य विज्ञान प्रतिष्ठान, धरानका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले वीपी केआइएचएस डिपोट बचाऔं संघर्ष समिति गठन गरी विरोध गरेपछि मालपोत कार्यालय धरानको कमजोरी वाहिर आएको छ । संघर्ष समितिका संयोजक डा. विष्णु पोखरेल, सदस्य–सचिव सुजेन्द्र तामाङ, सदस्यहरु डा. राजु रिजाल, डा. अभिषेक अमर र निलकुमारी गिरी थापा लगायतको टोली मालपोत कार्यालय धरानमा गएर सोधपुछ गरेपछि कम्जारी वाहिर आएको हो ।

विद्यालय प्रयोजनाका लागि मात्र भोगाधिकार पाएको जग्गा लिखत करारनामामा डिपोट स्कुलको पूर्ण स्वमित्वमा रहेको भनि मालपोत कार्यालयले साक्षी बसी प्रमाणित गर्दा ठूलो भूल हुन गएको मालपोत कार्यालयका प्रमुख दिलशेर राई, नायव सुब्बात्रय जीवन घण्डारी, रेवती अधिकारी र बालजीत राईले बताएकाछन् ।

उनीहरुले कार्यालय समय वित्नलाग्दा हतार हतार करारनामा तयार गरी ल्याउंदा सबै हेर्न नसकेको र डिपोट स्कुलको नामको श्रेस्ता ध्यानपूर्वक नहेर्दा कार्यालयवाट भुल हुन गएको स्विकार गरेकाछन् ।

अब कार्यालयवाट गल्ती भईसकेको र तत्कालीन कार्यालय प्रमुख यज्ञ प्रसाद भण्डारीको समेत सरुवा भईसकेको हुंदा आफुहरुले केही गर्न नसक्ने भएकाले अदालतवाट मात्र सच्चिने विकल्प रहेको भन्दै संघर्ष समितिलाई अदालतमा जान आग्रह गरेका छन् ।