पत्रपत्रिका

समानुपातिक सांसद्को गुनासो : डेराभरि योजनाका चाङ छन् काम गर्न पाइदैँन

काठमाडौं। समानुपातिक सांसदले आफूहरुसँग समन्वय नै नगरी प्रत्यक्ष निर्वाचित सांसदले एकलौटी रूपमा स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम सञ्चालन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

महोत्तरीकी समानुपातिक सांसद् इन्दुकुमारी शर्मा राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरसँग यही कार्यक्रमबाट रिसाउनुभएको छ । शर्माले ठाकुरले गरेको निर्णयप्रति असन्तुष्टि मात्र जनाउनु भएको छैन अदालतमै जाने चेतावनी दिनुभएको छ । उहाँले यस्तो चेतावनी दिए पनि ठाकुरले टेर्नुभएको छैन । सामान्य छलफल गरेजस्तो गरेर ठाकुरले आफूखुशी योजना बाँडेको शर्माको दावी छ । ठाकुर महोत्तरी –३ बाट निर्बाचित सांसद हुनुहुन्छ भने शर्मा तत्कालीन नेकपा माओबादी केन्द्रकी समानुपातिक सांसद् हुनुहुन्छ ।

अरु समानुपातिक सांसदको पनि यस्तै गुनासो छ । बझाङबाट समानुपातिकमा छनौट भएकी तत्कालीन नेकपा एमालेकी सांसद आशाकुमारी बिक हातै थापेर योजना माग्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ–‘समानुपातिक सांसदले पनि बजेट परिचालन गर्न पाएको भए जनताको चित्त बुझाउन सकिन्थ्यो ।’

यसअघि समानुपातिक सांसदलाई ५० लाख दिने गरिएको स्मरण गर्दै उहाँ बजेट नै नपाउँदा जनताको चित्त बुझाउन र साझा मत जुटाउन गाह्रो भएको अनुभव सुनाउनुहुन्छ । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।