समाचार

मन्त्री बाँस्कोटासँग जापानी राजदूतको भेटवार्तामा के भयो ?

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज मन्त्रालयमा भेटघाट गरे ।

भेटमा उनीहरुबीच नेपालमा सूचना तथा प्रविधि क्षेत्रमा जापानी लगानी बढाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा मन्त्री बाँस्कोटाले नेपाललाई प्राप्त अर्विटल स्टलमा आफ्नै स्याटलाइट स्टेशन राख्ने र दूरसञ्चार तथा हुलाक सेवालाई उन्नत बनाउन नेपालले प्रयत्न गरिरहेको चर्चा गर्दै यसका लागि जापानी पूँजी, प्रविधि र दक्षता नेपालमा भित्र्याउन राजदूत साइगोसँग आग्रह गरे ।

राजदूत साइगोले जापानको निजी क्षेत्रलाई नेपालको सञ्चार तथा प्रविधि क्षेत्रमा लगानी बढाउन आफूले पहल गरिराखेको उल्लेख गर्दै थप लगानी ल्याउने दिशामा आफू अझै लागि पर्ने विश्वास दिलाएको विज्ञप्तिमा उल्लेख छ ।