राजनीति

नेकपाका २१ केन्द्रीय सदस्यहरुको मागले बैठकमा प्रवेश पायो, आज पुन: बैठक बस्दै

काठमाण्डौ  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव पेश भएको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बिहीबार बसेको बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा बादल रहेको कार्यदलले प्रस्ताव पेश गरेको हो । यसबारे आज बस्ने सचिवालय बैठकमा छलफल हुनेछ र अन्तिम टुंगो भने स्थायी कमिटी बैठकले लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकमा पोलिटब्यूरो गठन, जनवर्गीय संगठनहरुको एकता, केन्द्रीय सदस्यको कार्यविभाजनका साथै सरकार, पार्टी र संसदीय दल सञ्चालनबारे समीक्षा गर्ने कार्यसूची छ । बैठकमा केन्द्रीय कार्य समितिको बैठक बोलाउन असन्तुष्ट केन्द्रीय सदस्यहरुले गरेको मागका विषयमा पनि छलफल गरिएको थियो ।

२१ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्य समिति बैठक बोलाउन माग गरेको विषयलाई पनि शुक्रबार सचिवालय बैठकमा ऐजन्डा बनाएर छलफल गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।