राजनीति

सिटौलाको आक्रोसः सभापति देउवाले पार्टीलाई सही दिशामा हिँडाउन सकेनन्

इलाम । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिलाई काम गर्न कसैले नरोकेको बताएका छन् ।

नेपाल प्रेस युनियन इलामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापति शेरवहादुर देउवाले पार्टीलाई सही दिशामा हिँडाउन नसकेको र कार्यकर्तालाई एकताबद्ध गर्न नसकेको आरोप लगाए ।

काङ्ग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिटौलाले दरो प्रतिपक्षको भूमिकासमेत काङ्ग्रेसले निर्वाह गर्न नसकेकोमा दुःख व्यक्त गर्दै एकताबद्ध र सही तरीकाले काम गर्न नसक्नुको दोष पार्टी नेतृत्वले लिनुपर्छ भने ।

‘पार्टी शीर्ष नेताले नै कार्ययोजना बनाएर काम नगरेपछि कार्यकर्ताले के गर्नु’ उनले भने, ‘अहिले त काङ्ग्रेसको योजना नै छैन ।’

नेता सिटौलाले वर्तमान सरकारले संविधान बाहिर गएर काम गर्न थालेको आरोप लगाउँदै अहिलेसम्म सरकारको कार्ययोजना हेर्दा पूरै असफल भएजस्तो देखिएको धारणा व्यक्त गरे ।