लुम्बिनी

बाँकेमा सडक दुर्घटना बढ्दो

नेपालगञ्ज । बाँके जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म सडक दुर्घटनामा परी २३ ले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक दुर्घटनामा परी १४ पुरुष, आठ महिला र एक बालबालिकाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हीरेन्द्र रोकायका अनुसार जिल्लामा सबैभन्दा धेरै सडक दुर्घटना कोहलपुरमा हुने गरेको छ । दुर्घटना हुने सवारी साधनमध्ये मोटरसाइकल पहिलोमा पर्दछ ।

जथाभावी र प्रतिस्पर्धात्मक रुपमा सवारी साधन गुडाउनाले पनि यस्ता घट्ना बढ्न थालेको जिल्ला ट्राफिक प्रमुख रोकायको भनाइ छ । साथै सडकका छाडा पशु चौपाया, सवारी चालकलाई ट्राफिक नियमको ज्ञान नहुनु र नियमनकारी निकायको उदासीनताले सडक दुर्घटना बढ्दै गएको छ । जिल्लामा ट्राफिक जनशक्ति पनि कम छ । कम जनशक्ति हुँदा ट्राफिकसम्बन्धी तालिम लिएका व्यक्तिलाई अहिले ट्राफिक नियन्त्रणका रुपमा पनि परिचालन गरिएको छ ।