पत्रपत्रिका

कांग्रेस विधानमा सहमति जुटेन

काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानमा राख्ने प्रावधानबारे केही मूल विषयमा सहमति नजुट्दा विकल्पसहितको मस्यौदालाई विधान समितिले पार्टीको केन्द्रीय समितिमा बुझाउने तयारी गरेको छ ।

हाल विधान समितिले मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको विधान तयार पारिरहेको छ ।

विधानमा केन्द्रमा रहने पदाधिकारी संख्या, पदाधिकारीको निर्वाचन प्रक्रिया, विभिन्न विभागको गठन, सभापतिको अधिकारसहित सदस्यता वितरण र विशेष अवस्थाको व्याख्याबारे सहमति जुट्न सकेको छैन ।

सो बारे जानकारी लिन कांग्रेसले ९ मंसिरका लागि केन्द्रीय समिति बैठकसमेत डाकेको छ । सो बैठकमा विधान समितिले विधानको मस्यौदासमेत बुझाउनेछ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले विधानमा राख्ने प्रावधानका केही विषयमा समान धारणा नभएकाले केन्द्रीय समितिमा सो बारे छलफल हुने जनाए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।