समाचार

नेकपाका केन्द्रीय सदस्य अध्यक्षद्वय ओली र दाहालप्रति असन्तुष्ट, तत्काल बैठक बोलाउन माग

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् । बुधबार नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

‘ज्ञापन पत्रमा दुबै अध्यक्षलाई सम्बोधन गरिएको छ, त्यसमा पार्टी एकीकरणदेखि पार्टी सञ्चालन कार्यलाई व्यवस्थित रुपमा गरिनुपर्ने विषय छ । पार्टी र सरकारको गतिविधिलाई व्यवस्थित गर्नुपर्ने विषय पनि हामीले त्यसमा समेटेका छौँ’, आचार्यले भने ।

पार्टीमा पक्षपातले सीमा नाघेको ज्ञापन पत्र बुझाउने २२ केन्द्रीय सदस्यको साझा निष्कर्ष छ । ज्ञापनपत्रमा ८ वटा माग राखिएको छ । जिम्मेवारी वितरणमा हैदसम्म पक्षपात पूर्ण व्यवहार गरिएको भन्दै भनिएको छ, ‘कसैलाई काममाथि कामको तथा अवसरमाथि अवसरको बोझ थपिएको छ भने मन नपरेका मानिसहरुलाई जिम्मेवारीविहीन बनाइएको तितो अनुभव हामीसँग ताजै छ ।’

छिटो छरितो प्रक्रियाबाट पार्टी एकिकरणका काम टुङ्ग्याउनु पर्ने, सरकार र संसदीय दल सञ्चालनबारे, सुशासन कायम गर्नेबारे’ भन्ने माग उल्लेख छ । ‘सादा जीवनशैली र आचरणबारे’ र ‘बैचारिक दिशाबोधबारे’ भन्ने विषयलाई पनि उनीहरुले आफ्नो मागपत्रमा समावेश गरेका छन् ।

मागपत्र बुझाउनेहरुमा केन्द्रीय सदस्यहरु डा.विजय पौडेल, जगन्नाथ खतिवडा, शत्रुघन महतो, ममत गिरी, जयन्ती राई, गरिमा शाह, निरज आचार्य, ममता गिरी, भाष्कर काफ्ले छन् । यसैगरी केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, प्रेमलकुमार खनाल, माधव अर्याल, विजय गुरुङ, तुलबहादुर गुरुङ, यदुबंश झा, रचना खड्का, माधव अर्याल, बिरोध खतिवडा, विजय गुरुङ र रबिन कोइराला पनि छन् ।

मन्त्री चयनदेखि राजनीतिक नियुक्तिहरुमा कुने विधि र पद्दती पालना नभएको तथा संसदीय दल बैठकलाई केही नेताको भाषण सुनाउने थलो बनाएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

ज्ञापनपत्र  :

[googleapps domain=”drive” dir=”file/d/1FTF00WwlXGEb2bn3qReT15NfgFp554jV/preview” query=”” width=”640″ height=”480″ /]