गण्डकी प्रदेश

खनाल बेपत्ता, आफन्त चिन्तामा

रामपुर । चापकोट नगरपालिका–८ स्याङजाका सागर खनाल कात्तिक २९ गतेदेखि बेपत्ता भएका छन् । घरबाट कास्कीको पोखरा जान भनेर हिँडेका खनाल बेपत्ता भएपछि खनाल घरपरिवार तथा आफन्त चिन्तामा छन् ।

घरबाट पोखरा पुगेपछि भान्जीको घरमा बास बसेको र भोलिपल्ट खाना खाएर राजश्व तिर्न हिँडेका खनाल सम्पर्कमा नआएको आफन्तको भनाइ छ । आफन्तले स्याङ्जा तथा कास्कीका विभिन्न प्रहरी कार्यालयमा उजुरी दिने तथा खोजीका लागी अपिल गरेका छन् । राजश्व बुझाउन कास्की विरौटा भान्जीको घरबाट खाना खाएर बिहान निस्केका उनको मध्याह्न १२ बजेबाट मोबाइलसमेत स्विच अफ रहेको खनालका भाइ सन्तोष खनालले बताए ।

राजश्व बुझाएर छिट्टै घर फर्कने भान्जीलाई बताएर हिँडेका सागर बेपत्ता भएपछि परिवार चिन्ताले अत्तालिएका छन् । गहुँगोरो वर्णका सत्ताइस वर्षीय ५।६ इन्च अग्ला सागर हराएको आज ६ दिन भइसकेको छ । परिवारमा तीन भाइ छोरामध्ये जेठो छोरा हराएपछि बुबाआमाले खोजी गरिदिन सबैमा अनुरोध गरेका छन् ।