समाचार

मलेसियाका चार दलाल नेपालमा सक्रिय,‘फोमेमा’का नाममा ब्यवसायीबाट २० लाख असुल्दै

काठमाडौँ । नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता कार्यान्वयनमा आउन नपाउँदै मलेसियन दलालहरु नेपालमा सक्रिय भएका छन् ।

मलेसियामा कामदार सप्लाई गर्ने वार्सिन समूहका बजार निर्देशक याङ अबुल कासिमसहितको गिरोहले नेपालमा ठगि धन्दा सुरु गरेका छन् । वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारको स्वस्थ्य परीक्षण ‘फोमेमा’ आवद्ध गराइदिने भन्दै नेपाली ब्यापारिसँग २० लाख रकम माग गरेका छन् । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्दै आएका मेडिकल र म्यापावर ब्यवसायीसँग २० लाख रकमको अफर गरेको एक ब्यवसायीले बताए ।

नेपालमा फोमेमा राख्नका लागि आफ्नो कम्पनीलाई अधिकार दिएको भन्दै हानिफले २० लाख नजराना माग्ने गरेपछि नेपाल सरकारले उनलाई निगरानीमा राखेको थियो । सरकारले निगरानीमा राखेको थाहा पाएपछि उनी आइतवार मलेसिया फर्केका छन् भने अन्य चार जना अझै नेपालमा सक्रिय छन् ।

नेपाल र मलेसियाबीच कामदारको स्वास्थ्य परीक्षण, सुरक्षा जाँच गर्नका लागि दुई संयन्त्र स्थापना गर्ने दुईपक्षीय श्रम समझदारी छ । त्यही समझदारीमा टेकेर मलेसियन दलालहरु नेपालमा सक्रिय भएका छन् । स्वास्थ्य परिक्षण ‘फोमेमा’ को आबद्धता दिलाइने भन्दै हनिफले रकमको माग गरेका हुन् । कतिपय मेडिकल र मेनपावर सञ्चालकले प्रमाणपत्र बुझाइसकेका छन् भने रकम दिने प्रतिबद्धता पनि जनाएका छन् ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३९ वटा बायोमेडिकल स्वास्थ्य संस्थाले गर्दै आइरहेका थिए । तर श्रममन्त्री गोकर्ण बिष्टले स्वास्थ्य परिक्षणमा भएका सवै एकाधिकार तोडिदिएपछि मलेसियन गिरोह फेरी सक्रिय भएको हो । कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले २ सय ३७ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।

सरकारले गुणस्तर कायम गर्ने निजी तथा सरकारी अस्पतालबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने निर्णय लिएको छ ।