समाचार

सबै तहको संरचना निर्माणले सङ्घीयता सफल हुने: मन्त्री पोखरेल

सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामनत्री ईश्वर पोखरेलले सबै तहको संरचना निर्माणले मात्र सङ्घीयता सफल हुने बताए । राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पामा सडक उद्घाटन गर्न जाने क्रममा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “सङ्घीयता सफल पार्न सङ्घदेखि स्थानीय तहसम्मका संरचना निर्माण गर्न जरुरी छ ।” राजनीतिक क्षेत्रमा सङ्घीयता कार्यान्वयन भइ सकेपछि मात्र वित्तिय र प्रशासनिक क्षेत्रमा पूर्णरुपमा कार्यान्वयनमा आउने धारणा उनले व्यक्त गरे ।

उनका अनुसार संरचना पूर्णतया निर्माण हुन नसक्नुले पनि प्रदेशले सबै अधिकारको उपभोग गर्न पाएका छैनन् । सो क्रममा नेकपाका नेतासमेत रहेका उनले प्रदेश र जिल्लास्तरमा कमिटी निर्माणको छिट्टै टुंगो लगाइने बताए । उनले भने, “केन्द्रमा सबै टुंगो लागिसक्यो, प्रदेश र जिल्लाको प्रक्रियामै रहेकोले केही आन्तरिक समस्या समाधान गरी जतिसक्दो सबै तहसम्म कमिटी गठनको टुङ्गोे लगाउँछौं ।”