खेलकुद

विश्व म्याराथनमा दुई खेलाडी सहभागी हुने

काठमाडौँ । जापानको ओसाकामा आयोजना हुने विश्वस्तरीय ओसाका म्याराथन–२०१८ मा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही मङ्सिर ९ गते आयोनजा हुने उक्त प्रतियोगितामा नेपालबाट धर्म महर्जन र पुष्पलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा सहभागी हुन जाने चार सदस्यीय नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले बिदाइ गरे । टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल सरकारको सहयोग तथा राखेप र डा खगेन्द्र स्पोर्टस फाउण्डेशनको व्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीको टोली व्यवस्थापकमा रजत श्रेष्ठ र प्रशिक्षकमा बैकुण्ठ मानन्धर छन् । प्रशिक्षक मानन्धरले अन्तर्राष्ट्रिय प्रशिक्षण नभए तापनि नेपाली धावकले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । दश वर्षदेखि फाउण्डेशनले खेल तथा खेलाडीको विकासमा सदैव सहयोग गर्दै आएको फाउण्डेशनका संस्थापक अध्यक्ष डा खगेन्द्रबहादुर श्रेष्ठले बताए ।