समाचार

विपद् व्यवस्थापनमा सहयोगका लागि आग्रह

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई तालीम र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीमा सहयोगका लागि राजदूतसँग आग्रह गरे। नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिन राजदूत लेजेलाई आग्रह गरे ।

उनले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदूतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे । राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसद रहेको समूह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटक नेपाल भ्रमणमा आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो राख्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकलाई दिँदै आएको सुरक्षाबाट आफूहरु सन्तुष्ट रहेको बताए । विपद् व्यवस्थापन लगायतका अन्यक्षेत्रमा नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।