प्रदेश 2

प्रदेश नं २ मा मङ्सिर ५ गते सार्वजनिक बिदा

धनुषा । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रदेशसभा बैठक ४० दिनपछि

प्रदेशसभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मङ्सिर ७ गते बस्ने भएको छ । असोज २८ गते स्थगन भएको अधिवेशन लामो अन्तरालपछि बस्न लागेको हो । मङ्सिर ७ गते संसद्को बैठक डाकिएको प्रदेश सभामुख सरोजकुमार यादवले बताए । सरकारले केही बिल टेबुल गराएकाले संसद्मा विजनेश रहेको सभामुख यादवले बताए । अन्य प्रदेशमा दोस्रो अधिवेशन समाप्त भइसकेको छ । बजेट अधिवेशन समाप्त भई हिउँदे अधिवेशन प्रारम्भ हुने समय नजिकिएको बेला प्रदेश नं २ मा भने जारी नै रहेको छ ।