पु.समाचार

वर्तमान सरकार चौतर्फी घेराबन्दीमा: नेता गजुरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले नेपालमा भएको परिवर्तनको बाहक नेकपा अध्यक्ष पुष्पकमल दाहाल भएको कुरा सबैले स्वीकार गरिसकेको बताएका छन् । एक अन्तर्वातामा बोल्दैँ नेता गजुरेलले विभिन्न दल र जनताले देशमा दाहालकै नेतृत्व खोजेको तर अहिले को प्रधानमन्त्री बन्छ ? कसले नेतृत्व लिन्छ भन्ने कुरामा छलफल बहस जान उपयुक्त नभएको बताए ।

शान्ति प्रक्रिया टुङ्गोमा पुगिनसकेको अवस्थामा र संघीयता कार्यान्वयनको चरणमा रहेको अवस्थामा दाहालले नेतृत्व लिन खोजेको बताए । अहिले सरकार घेराबन्दीमा परेको उनको भनाइ छ । दाहालपुत्र प्रकाशको स्मृतिमा आयोजना गरिएको शोकसभामा सहभागि सबै दलका नेताहरुले दाहालप्रति सहानुभूति मात्र देखाएको नभै नेतृत्व नै गर्नुपर्ने संकेत गरेको गजुरेलको जिकिर थियो ।

केपी ओली नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको उनको तर्क छ । पार्टीभित्रको आन्तरिक समस्या र एकीकरण प्रक्रियामा भएको समस्या पनि हल गर्न नसकिएको गजुरेलले बताए ।

सरकारको कामबाट स्वयम् प्रधानमन्त्री ओली नै सन्तुष्ट हुन नसकेको उनको भनाई थियो । अबका दिनमा ओलीले मन फराकिलो बनाएर कमी कमजोरीलाई हटाउँदै प्रभावकारी रुपमा काम गर्नुपर्ने गजुरेलको सुझाब छ ।

पार्टी अध्यक्षद्धय केपी ओली र दाहालबीचमा सुमधुर सम्बन्ध रहेको पनि गजुरेलले बताए ।