पत्रपत्रिका

छपाइ बिग्रेका नोट बजारमा

काठमाडौं– छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् ।

नोट छपाइका लागि अधिकार पाएका केन्द्रीय बैंक पर्याप्त सजकता अपनाउन नसक्दा त्यस्ता नोट बजारमा पुगेका छन् । त्यस्ता सबै नोटको उजुरी बैंकरराष्ट्र बैंकसम्म आइपुग्दैन । यसका दुई कारण छन् । पहिलो राष्ट्र बैंकमा गएपछि शोधभर्नाबापत अर्को नोट पाइन्छ भन्ने सर्वसाधारणलाई जानकारी छैन । दोस्रो मुद्रा संकलनकर्ता (मनी कलेक्टर) कहाँ बिक्री गर्दा वास्तविक मूल्यभन्दा धेरै पैसा पाइन्छ ।

यसकारण शोधभर्ना पाइन्छ भन्ने जानकारी भएका पनि मनी कलेक्टरमै गएर बिक्री गर्ने जानकारहरू बताउँछन् । ‘यदाकदा बजारमा त्रुटि भएका नोट भेटिने गरेका छन्, ती सबै नोट केन्द्रीय बैंकमा आइपुग्दैनन्,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बजारमा मुद्रा संकलकले वास्तविकभन्दा बढी मूल्यमा किनिदिन्छन् ।’ यसकारण त्रुटिपूर्ण नोटको उजुरी राष्ट्र बैंकमा कम हुन्छ ।

नोटमा त्रुटि बढदै जाँदा राष्ट्र बैंकको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले उजुरी आएन भन्दैमा केन्द्रीय बैंक आरामले बस्न नहुने उनको सुझाव छ ।, कान्तिपुरमा खबर छ ।