प्रदेश 1

एकादशीमा समेत चर्पीकै चर्चा, चर्पीकै महिमा

विनोद धौलागिरि, विराटनगर (मोरङ) । आज हरिवोधनी एकादशी, अर्थात् ठूली एकादशी । भगवान विष्णुको पूजा आराधना गर्ने दिन । जति धुमधामका साथ एकादशी मनाउने तयारी थियो, उति नै चाप थियो चर्पी, घरआँगन र बाटोघाटो सफा गर्नका लागि । बेलबारी नगरपालिका–८ रैझारकी महिला स्वास्थ्य स्वयंसेविका रेणुका खवासलाई चर्पी दिवस मनाउन उत्तिकै चटारो थियो । सामाजिक अगुवा रत्ना खवास र सचेतना केन्द्र संयोजक दयावती खवासलाई समेत उत्तिकै भ्याई नभ्याई थियो, चर्पी दिवस मनाउने तयारी गर्नमै ।

यस्तै चटारोमा थिए बेलबारी–१ सीतलडाँडाका बासिन्दा समेत । मोरङ जिल्लाभर नै सरसफाइ नमूना टोलको रुपमा चिनिएको सीतलडाँडाका बासिन्दालाई समेत एकाविहानैदेखि चर्पी दिवसकै रौनकले तताइरह्यो । गाउँटोल सफा गरे, प्रत्येक घरमा रहेका फिल्टर नयाँ पानीले भरे, अनि कुहिने फोहरलाई कम्पोष्ट खाडलमा जम्मा गरे ।

कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामत, उपाध्यक्ष मञ्जिता कुमारी सरदार र प्रमुख प्रशासकीय अधिकृत गणेश कार्की भने एकाविहानै धेरै चर्पी बन्न बाँकी रहेको वडा नं. ४ मा पुगे र चर्पी नबनाउने घरधुरीसँग अन्तरक्रिया गरे । उनीहरुको होस्टेमा हैंसे थप्न पुगिहाले जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश पोखरेल । “समुदायसँग राम्रो अन्तरक्रिया भयो चर्पी निर्माण र प्रयोग सम्बन्धमा”, हटहरीबाट फर्किएपछि अध्यक्ष पोखरेलले भने, “जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यमा कटहरी गाउँपालिका वाधक नबन्ने प्रण गर्नुभएको छ, सबै जनाले ।”
उत्साही गाउलेलाई चप्पल उपहार

बेलबारी नगरपालिका, वडा नं. ८ का अध्यक्ष धनपति गौतमले आफ्नो टोल सफा राख्ने रैझार गाउँका बासिन्दालाई वडाको तर्फबाट एक बोरा चप्पल उपहार लगिदिए । “आफ्नो गाउँलाई सफा राख्ने थालनी गरेका स्थानीय जागरुकहरुका लागि वडाको तर्फबाट यो सानो उपहारमात्र हो”, चर्पीमा प्रयोग गर्ने चप्पल वितरण गर्दै वडाध्यक्ष गौतमले प्रतिवद्धता व्यक्त गरे, “वडालाई सरसफाइमात्र होइन, विकासका सबै काममा नमूना बनाउनुहोस्, हामीले आवश्यक सबै सहयोग गर्छौं ।”

यसैमा हौसला थपे ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्मा । “विश्वभरका हिन्दूहरुले मान्ने पवित्रताको पर्व एकादशी र सबै धर्मावलम्वीले मान्ने स्वच्छताको पर्व चर्पी दिवस एकैदिन परेको छ”, उनले हौसला थपे, “आफ्नो माटोलाई माया गर्ने स्थानीय बासिन्दालाई हाम्रो सलाम छ, आफ्नो ठाउँमा पसिना बगाउन चाहनेहरुलाई साधुवाद छ ।”

सामुदायिक विकास समाज विराटनगरका अध्यक्ष गंगाप्रसाद यादवले रैझारलाई नमूना टोल बनाउने कार्यमा वडा र नगरपालिकासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

सामाचकेवामा समेत चर्पीकै चर्चा
हरिबोधनी एकादशीको दिनमा मन्दिरहरुमा भक्तिगीत बजिरहँदा र पण्डितहरुले एकादशी महिमा वाचन गर्ने तयारी गरिरहँदा रैझारका महिलाहरु भने सामाचकेवा गीतामा समेत चर्पी र सरसफाइकै सन्देश दिइरहेका थिए । “दाजुभाइ र दिदीबहिनीहरुबीचको सम्बन्ध र ममता प्रगाढ बनाउने सामाचकेवा गीतमा सरसफाइलाई मिसाएर नयाँ प्रयोग गरेका हौं”, स्थानीय रत्ना खवास भन्छिन्, “समुदाय सफा नराखेसम्म निरोगी र स्वस्थ हुन सकिदैन । त्यसैले सफाइको कुरा जहाँ गरेपनि हुन्छ भन्ने लाग्यो, यसैको गीत बनायौं ।”
वडा सदस्य प्रवीण खवासले समुदाय सफा राख्नका लागि कुखुरा र बंगुरलाई व्यवस्थित रुपमा पाल्नुपर्नेमा जोड दिए । “हामीले मानिसको मलमुत्रलाई त चर्पीमा व्यवस्थित गर्छौं”, उनले भने, “अब वातावरण फोहर गर्ने सुंगुर बंगुरलाई समेत व्यवस्थित रुपमा पाल्नुपर्छ ।” उनको भनाइ भुइँमा खस्न नपाउँदै वडाअध्यक्ष धनपति गौतमले किसानहरुलाई व्यवस्थित पशुपालनसम्बन्धी तीन दिने तालिम तुरुन्तै आयोजना गर्ने वाचा समेत गरे ।

चर्पी नबनाउनेले हेरे लोटे चर्पी भिडियो
कटहरी गाउँपालिका, वडा नं. ४ मा चर्पी नबनाउने घरधुरीका बासिन्दा भेला भएर सन्देशमूलक भिडियो वृत्तचित्र लोटेचर्पी हेरे । वडा तथा गाउँपालिकाले सानो सहयोग गरेमा आफूहरु पनि सुरक्षित चर्पीको निर्माण र त्यसको समुचित प्रयोग गर्ने प्रतिवद्धता उनीहरुले व्यक्त गरे ।
उनीहरुको अनुरोधमा बल पु¥याए गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले । अति विपन्न घरधुरीलाई वडाको सिफारिसमा सुलभ दरमा निर्माण सामग्री उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको र यसका लागि रिङ तथा ढक्कनको निर्माण भैरहेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले लगानी नभएको चिजमा उपभोक्ताको माया नहुने भएकोले सक्नेहरुले चर्पी आफै बनाउनुपर्ने र नसक्नेहरुलाई आंशिक सहयोगमात्र गर्नुपर्नेमा जोड दिए ।

खुल्ला दिसामुक्त अभियानमा प्राविधिक सहयोग गरिरहेको मातृभूमि महिला समाज मोरङ शाखाकी अध्यक्ष शान्ता दाहालले चर्पी मानिसको प्राकृतिक आवश्यकता भएकोले व्यक्ति आफै सचेत र सजग भै यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
गाउँपालिकालाई मंसीर १५ भित्रै खुल्ला दिसामुक्त अवस्थामा पु¥याउनका लागि साँझ विहान गश्ती गर्ने मिसन टोली, अनुगमन टोली र सामग्री व्यवस्थापन टोलीको गठन गरिएको छ ।

यसैगरी कटहरी गाउँपालिका वडा नं. २ मा भएको भेलाले टोल सरसफाइ समिति गठन गर्नुका साथै साँझ विहान गश्ती गर्नका लागि कमाण्डो टोली समेत गठन गरेको वडाध्यक्ष किशोरकुमार पाण्डेले जानकारी दिए ।