राजनीति

एक महीनापछि नेकपाको सचिवालय बैठक बस्दै, केके छन् छलफलका मुख्य एजेण्डा ?

काठमाडौँ । झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको हो । नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो । सो बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिश गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले यही मङ्सिर ६ गते सचिवालयको बैठक बस्ने तथा त्यसले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्ने तयारी भएको जानकारी दिए ।

‘‘पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार स्वदेश फर्कनुहुन्छ’’, श्रेष्ठले भने, ‘‘त्यसपछि आगामी बैठक बस्ने तयारी गरिएको छ ।’’ पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ । ती पदाधिकारीले जिल्लामा काम गर्नका लागि संयन्त्र गरेका छन् । दुई सदस्यीय उक्त कार्यदलले निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न निर्देशन दिएको थियो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि तीन महीनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन ।