बाग्मती

तीन दिने कार्यशाला गोष्ठी आजदेखि शुरु

हेटौँडा । राष्ट्रिय योजना आयोगको आयोजनामा हेटौँडामा दिगो विकास लक्ष्यमैत्री योजना तथा बजेट र अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क प्रणालीसम्बन्धी प्रदेशस्तरीय तीन दिने कार्यशाला गोष्ठी आजदेखि यहाँ शुरु भएको छ ।

सो गोष्ठीको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै अब योजना आयोगले विगतदेखि हालसम्म गरेका योजना निर्माणका विधि प्रक्रिया र कार्यान्वयनलाई निर्मम ढङ्गले समीक्षा गरी त्रुटि, कमजोरी पहिचान गरी खुद्रा योजना बनाउन बन्द गर्नुपर्ने सुझाव दिए ।

उहाँले वस्तुगत ढङ्गले तथ्याङ्क सङ्कलन गरी प्राथमिकताको आधारमा योजना निर्माणमा सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी कार्यान्वयन प्रभावकारी रुपमा गर्ने र अनुगमन गरी दिगो विकास लक्ष्य हासिल गर्ने गरी काम गर्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले राष्ट्रिय योजना आयोगको उद्देश्य विगतका कार्यशैलीमा सुधार गर्दै नयाँ परिवेशमा संविधानअनुसार राष्ट्रले अपेक्षा गरेको दिगो र छरितो विकास गर्न योजनामा बजेटको सुनिश्चितता गरी समन्वयात्मक ढङ्गले काम गर्ने बताए ।

सो गोष्ठीमा राष्ट्रिय योजना आयोग, प्रदेश योजना आयोगले प्रदेश प्रमुखको कार्यालय, मन्त्रिपरिषद् कार्यालय, विषय क्षेत्रगत मन्त्रालयका सचिव, प्रदेशसभाका महासचिव, न्यायाधिवक्ता, प्रदेश लेखा नियन्त्रक कार्यालय एवं योजना तर्जुमा सँग सम्बन्धित पदाधिकारीबीच योजना निर्माण सम्बन्धित व्यापक छलफल गरिने जानकारी दिइएको छ ।