समाचार

वर्तमान सरकारले नेपालमै रोजगारी सिर्जना गर्न रातदिन खटिएको छः मन्त्री यादव

कलैया । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार नेपालमै रोजगारी सिर्जना गर्न लागि परेको बताउनुभएको छ ।

डुमरवानामा बारा महोत्सव–२०७५ को उद्घाटन गर्दै उनले नेपालमा जल, जङ्गल र उद्योगधन्दा पर्याप्त रहेपनि सही सदुपयोग हुन नसक्दा लाखौँ युवा विदेशिन बाध्य भइरहेकाले सरकार यसमा गम्भिर रहेको बताए ।

नेपाल कृषि प्रधान देश भए पनि उत्पादनको बजारीकरण प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले उत्पादन र बजारीकरणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विगतमा उद्योगलाई धराशायी गरी रोजगारको अवसर बन्द गरिएको जिकिर गर्दै मन्त्री यादवले वर्तमान सरकार बन्द रहेका उद्योग सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न कार्ययोजनासहित अगाडि बढेको बताए ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री प्रभु साह, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, सुन्दर विश्वकर्मा, महमद समिर, शोभा लामा, कुन्दन कुशवाहा, सीता गुरुङ, सविना खातुनलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । महोत्सवमा कपडा, खेलौना, विभिन्न खानाका परिकार, कृषि औजार, मनोरञ्जनका विभिन्न खेललगायतका स्टल राखिएका छन् ।