बाग्मती

सांसद विकास योजना सार्वजनिक

हेटौँडा । मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभाका दुई सांसदले आफ्नो क्षेत्रको विकासका लागि सांसद विकास कोषको रकम खर्च र योजना छनोट आज यहाँ सार्वजनिक गरेका छन् ।

क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल र २ का विरोध खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली–२०७५ बमोजिम सबैको सल्लाहमा छनोट गरेका योजनाको विवरण सार्वजनिक गरेका हुन् । सांसदले स्थानीय तह, यस जिल्लाबाट निर्वाचित प्रदेश सदस्यसहितको सल्लाहमा बजेटको बाँडफाँट गरेका पत्रकार सम्मेलन गरी जानकारी दिए ।

एक निर्वाचन क्षेत्रमा रु चार करोडका दरले दुई क्षेत्रमा रु आठ करोड रकम खर्च हुने जारी विज्ञप्तिमा उल्लेख छ । कोषको रकम पारदर्शी गर्न पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सांसद खतिवडाले जानकारी दिए । सांसद दाहालले वितरण गर्ने रु चार करोडमा वाग्मती गाउँपालिकाको पूर्वाधार विकासमा रु एक करोड, मकवानपुर गढी गाउँपालिकाको पूर्वाधार विकासमा रु ५० लाख, हेटौँडा उपमहानगरपालिका क्षेत्रको पूर्वाधारमा रु एक करोड ५० लाख, बकैयाँ गाउँपालिकामा रु एक करोडको पूर्वाधार विकास गर्ने गरी बजेट तयार भएको बताए ।

सांसद खतिवडाले रु चार करोडका आठ वटा स्थानीय तहलाई प्राथमिकताका आधारमा पूर्वाधार विकासमा खर्च गर्ने बताए । हेटौँडा नगर क्षेत्रमा वडा नम्बर ३ मा लटौला टोलदेखि राईगाउँ सडक निर्माणसम्मका लागि रु २० लाख, थाहा नगरपालिका–४ बसपार्क पूर्वाधार निर्माणमा रु ५० लाख, वडा नम्बर ३ को पाण्डुकेस्वर मन्दिर निर्माणका लागि रु २० लाख बजेट विनियोजित गरिएको छ ।

यसैगरी कैलाश गाउँपालिकामा खानेपानी योजना, स्वास्थ्यचौकी निर्माण, भार्ता गोगने सडक निर्माणमा रु ८० लाख खर्च हुनेछ । मकवानपुर गढीको–६ मा भालुखोला च्याफल भन्ज्याङ मोटरबाटोका लागि रु २५ लाख, वडा नं ८ को इच्युङ बूढीचौर सडक निर्माणका लागि रु १० लाख छुट्याइएको छ । मनहरि गाउँपालिकाको रजैयामा सभाहल निर्माण, गोगनपानी चकरी सडक, लोथर हिलेदमार, यहाँको खानेपानी आयोजानका लागि गरेर रु ७० लाख खर्च हुनेछ ।

राक्सीराङ गाउँपालिकाको तालनी खैराङ सडक, तिरुवा धिराङ सडक, सिमताप धुमवाङ सडक गरी यस क्षेत्रमा रु ५० लाख खर्च गर्ने योजना छ । भीमफेदी गाउँपालिकामा सुपिङ बृहत् खानेपानी योजना, चुनिया बृहत् खानेपानी योजना, यस क्षेत्रको कृषि सडक निर्माणका लागि गरेर रु ४५ लाख खर्च गर्न लागिएको सांसद खतिवडाले जानकारी दिनुभयो ।