अन्तर्राष्ट्रिय

सामुद्रिक आँधीबाट एघारको ज्यान गयो

चेन्नाई । भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

हजारौंको सङ्ख्यामा रुखहरु आवासीय भवन र सवारी साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट भागेका थिए ।

‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रति घण्टाको हिसाबले आएको थियो ।

त्यसअघि सो आँधी नागापात्तिनाम नजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरुले जानकारी दिएका छन् ।

गाजा आँधीको कारण कम्तीमा ११ को मृत्यु भएको बताइएता पनि यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

भारत सरकारले यस प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही दश लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेको छ ।

यस आँधीको कारण क्षतिग्रस्त र ध्वस्त भएका सडकहरु र विद्युतीय लाइनको मर्मतको लागि सयांै आपतकालीन उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

दक्षिण भारतमा हरेक वर्ष अप्रिलदेखि डिसेम्बरसम्म आँधीले सताउने गरेको छ । गत वर्ष तमिलनाडु र केरलामा आएको ओच्खी नामक आँधीका परी करिब दुईसय ५० जनाको मृत्यु भएको थियो । –एजेन्सी