प्रवास

नेपाल आर्थिक समृद्धिको यात्रातर्फ

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फउन्मुख भएको बताएका छन् । मलेशियाको क्वालालाम्पुरमा एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता संस्था (इफाप्का) को ४४औँ सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नेपालको अबको लक्ष्य आर्थिक समृद्धि रहेको बताए ।

नेपाल सरकार समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणासहित अघि बढिरहेको जानकारी दिँदै सिंहले समृद्ध नेपाल बनाउन निर्माण उद्योगको भूमिका महत्वपूर्ण रहने बताए । भौतिक पूर्वाधारको विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा राजनीतिक दलको पनि पूर्ण साथ रहेको उनको भनाइ थियो ।

भौतिक पूर्वाधारका क्षेत्रमा विकास गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुक बनाउने तयारीमा सरकार लागेको सिंहले जानकारी दिए । आफ्नो लक्ष्यप्राप्तिका लागि सरकारले सार्वजनिक निजी साझेदारीको अवधारणालाई प्राथमिकता दिएको उनले बताए ।

यसैबीच सम्मेलनबाट इफाप्काको प्रथम उपाध्यक्षमा रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन हुनुभएको छ । महासङ्घका पूर्वअध्यक्ष रहिसकेएका शर्मा र लामिछाने दुवै हाल महासङ्घका सल्लाहकार हुन ।

त्यस्तै इफाप्काको बोर्ड सदस्यमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । सम्मेलनमा सहभागी हुन महासङ्घ अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार मलेसिया गएको थियो । सम्मेलनमा सहभागी भएपछि नेपाली प्रतिनिधिमण्डलले मलेसियासहित सिङ्गापुर र इण्डोनेशियाकोसमेत भ्रमण गरी भौतिक पूर्वाधारका क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धिको स्थलगत अध्ययन अवलोकन गर्ने कार्यक्रम छ । इफाप्काको ४६औँ सम्मेलन नेपालमा आयोजना हुँदैछ ।