बाग्मती

नारायणगढ–मुग्लिन सडक खण्डमा बन्दैँछन यस्ता १४ पुल !

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुलको विस्तार र नयाँ बनाउने प्रक्रिया शुरु गरिएको छ । विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो ।

सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ । विसं २०३८ मा ती पुल चिनियाँ प्राविधिकले निर्माण गरेकाले अहिले गरिएका नक्साङ्कनका बारेमा छलफल गर्न प्राविधिक विज्ञसमेत बोलाइएको उनले बताए ।

थापाका अनुसार चीनको थोङजी विश्वविद्यालयका प्राध्यापक डा सेनलाई पुल नक्साङ्कनको अन्तिम रुप दिनका लागि छलफल गर्न बोलाइएको छ । उनी आएलगत्तै नक्साङ्कनको अन्तिम रुप दिएर बोलपत्र आह्वान गरिनेछ ।

थापाले भने “माघको तेस्रो साताभित्र बोलपत्र आह्वान हुने गरी काम अगाडि बढाएका छौँ ।” हाल ती पुल छ मिटर फराकिला छन् । उनका अनुसार ११ मिटर फराकिलो बनाइनेछ । दुई वटा नयाँ पुल बनाइनेछ भने १२ वटा पुलको दायाँबायाँ थप गरी विस्तार गरिने योजना छ ।

पुल बनेका छेउमा अग्ला पहाड भएकाले अर्को ठाउँबाट पुल बनाउन कठिन हुने उनले बताए । सोही सडकका चार ठाउँमा नयाँ पुल बन्दै गरेका छन् । सडक फराकिलो भइसक्दा पनि पुल साँघुरो भएपछि यातायात आवागमनमा समस्या हुँदै आएको छ ।

सो सडक विस्तार गरी नौदेखि ११ मिटर फराकिलो बनाइएको छ । ती पुल नयाँ बनाउन र मर्मतका लागि रु दुई अर्ब लाग्ने अनुमान गर्दै विश्व बैंकले अर्थ मन्त्रालयसँग बुधबार अन्य योजनासहित सम्झौता गरिसकेको थापाले जानकारी दिए ।

नयाँ पुलभन्दा पुल भएकै ठाउँमा विस्तार गर्नुपर्ने देखिएकाले रु एक अर्ब हाराहारीमै काम सम्पन्न हुनसक्ने अनुमान गरिएको छ । १८ महीनामा पुल सम्पन्न हुने गरी काम गर्ने तयारी गरिएको उनले बताए ।