राजनीति

सभापतिले न्याय र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यकः नेता पौडेल

पर्सा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथीको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

वरिष्ठ नेता पौडेल भने, “मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यक रहेको प्रस्ट पारे । उनले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गरे।

नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको आरोप लगाए । उनले सरकार गठन भएको छ महीना बितेपनि सरकारले जनतालाई राहत दिनुको साट्टा काण्डै–काण्डमात्र दिएकाले जनता निरास भएको टिप्पनी गरे ।

नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजयकुमार चौरसिया लगायतका वक्ताले तीनै तहका सरकारको कर नीतिले जनतालाई दुःखी बनाएको धारणा व्यक्त गरे । उनले नेतृत्वले भन्ने कुरा सभापति देउवालाई संकेत गरेका थिए ।