प्रदेश 1

भूटानी शरणार्थीको घर फिर्तीका लागि पहल गर्ने

उर्लाबारी । सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।

मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ बुधबार भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताए ।

उनले भने, “युएनएचसीआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भूटानसँग कुराकानी गर्न तयार छ, फेरि कोशिस गरौँ ।”

निर्देशक रवाट्टेले तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीको छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ युएनएचसीआरले पहल गर्ने बताए।

भेटमा नगर प्रमुख राईले भूटानमा नेपाली भाषी पनि सांसद बनेको भन्दै नयाँ सरकारसँग पहल गर्न केही सजिलो हुने बताए ।

नेपाल सरकारले भूटानसँग वार्ता गरी समस्याको दिगो समाधान खोज्न पहल गर्नुपर्ने बताउँदै उनले त्यस्तो हुन नसकेमा नेपाल सरकारले उनीहरुको बसोबास र सुविधाको व्यवस्थापन गर्नसमेत तयार हुनुपर्नेमा जोड दिए ।

झापा र मोरङका विभिन्न शिविरमा छ हजार ५०० शरणार्थी छन् ।