सामाजिक सञ्जाल

गगन थापाको अगुवाईमा गुह्येश्वरी–गौरीघाट सफाइ अभियान

काठमाडौँ । छठ पर्वका अवसरमा गुह्येश्वरीदेखि गौरीघाटसम्म बनाइएको छठी घाटका कारण जम्मा भएको फोहर सफाइ शुरु गरिएको छ ।
वाग्मती सुन्दरता सरोकार मञ्च, प्रतिनिधिसभा सांसदको सचिवालय क्षेत्र नं ४, काठमाडौँ, गुह्येश्वरी विनायक युवा क्लब, श्री छठ पूजा समितिलगायत सङ्घ संस्था र अभियानकर्मीको सक्रियतामा भएको सफाइको नेतृत्व सांसद गगन थापा एवं प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गरेका थिए ।
आजदेखि शुरु गरिएको सफाइलाई शनिबारसम्म निरन्तरता दिइने अभियानकर्मी परमेश्वर पौडेलले जानकारी दिए । कार्यक्रमको शुभारम्भ गर्दै सांसद थापा, प्रदेशसभा सदस्य वैद्य लगायतले सभ्यताको स्रोत वाग्मती सफाइका लागि सरोकार भएका सबैको हातेमालो हुनुपर्नेमा जोड दिए । नदी किनारमा आयोजना गरिने पूजा, जात्रा, मेला लगायत कार्यक्रम लगत्तै सफाइ गरिए नदी सभ्यतामा दीर्घकालीन असर नपर्ने सो अवसरमा जानकारी गराइएको थियो ।