समाचार

तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन्ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त दुखित तुल्याएको बताएका छन् ।

समवेदना सन्देशमा राष्ट्रपतिले भनेकी छन्, “सदैव नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो ।”

भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उनको अगुवाइ र सक्रियता उल्लेखनीय रहेकाले उनको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गरेकी छन् । “मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु” समवेदना सन्देशमा भनिएको छ ।