अन्तर्राष्ट्रिय

आणविक सम्झौताको मर्मलाई सुरक्षा गर्न इरानको आग्रह

तेहरान । आणविक सम्झौताका अमेरिका बाहेकका अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्म अनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले शनिबार आग्रह गरेको छ ।

सम्झौता अनुसार अघि बढ्न हस्ताक्षरकर्ता मुलुकहरूले प्रतिवद्धता जनाएका भएपनि यसका लागि पहलकदमी लिन यूरोपेली यूनियन (इयू) ले ढिलाइ गरेको इरानी विदेश मन्त्री मोहमुद जाभेद जरिफले बताए ।

अमेरिकी आर्थिक प्रतिबन्धका कारण इरानले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै इयूले आर्थिक कारोबारका लागि इरानलाई वैध बाटोको विकल्प दिनुपर्ने उनको भनाइ थियोे ।

शुक्रबार इरानी उपविदेशमन्त्री अब्बास अराक्चीले पनि सम्झौता अनुरूप इरानलाई सहयोग नगरेको भनी इयूको ‘प्रतिक्रिया ढिलो’ भइरहेको भनी आलोचना गरेका थिए ।

सम्झौतामा इयूको राजनैतिक अडान सही भएपनि यसलाई व्यवहारमा लान अन्य हस्ताक्षरकर्ता सफल नभैरहेको उपविदेशमन्त्रीको दावी थियो । उनीहरू अमेरिकाबाट जरिवाना लगाउने र विश्वास गुम्ने भयका कारण इरानबाट बाहिरिने कम्पनीलाई रोक्ने सन्दर्भमा शक्तिहीन देखिएका छन् । इरानमा कार्यरत कतिपय व्यवसायिक कम्पनीहरू अमेरिकाले सम्झौताबाट बाहिरिने घोषणासँगै आफ्ना गतिविधिमा सुस्ताउदै बाहिरिन थालिसकेका छन् । यसैगरी गत वर्षको सेप्टेम्बरपछि अहिलेसम्म रियलको मूल्यमा अमेरिकी डलरसँग ४७ प्रतिशत गिरावट आइसकेको छ ।

इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौतालाई जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताएका छन् । संयुक्त राज्य अमेरिकाले गत मे महिनामा आफूले सन् २०१५ मा इरानसँग विश्व शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरेको थियो भने गतहप्ता देखि सम्झौताबाट फिर्ता भएको थियो । यसपछि इरानमाथि पुनः सन् २०१५ पहिलेजस्तै आर्थिक नाकावन्दी लगाइएको छ ।