पु.समाचार

निर्मला हत्या प्रकरण : बाबु–आमा अनिश्चितकालीन धर्ना बस्दै

कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडितले अनिश्चितकालीन धर्ना दिने भएका छन्।

निर्मलाका बाबु, आमा र हत्या विरोधी अभियानमा संलग्न रहँदै आएका स्थानीयले आइतबारदेखि धर्ना शुरु गर्ने तयारी गरेका हुन्। शनिबार महेन्द्रनगरमा भएको छलफलपछि यसअघि नै घोषणा गरिएको अनिश्चितकालीन धर्ना शुरु गर्ने निर्णय भएको हो।

आइतबार बिहान ११ बजे महेन्द्रनगरको मदनचोकबाट र्‍यालीसहित बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना बस्ने कार्यक्रम रहेको छ।

निर्मलाका बाबु यज्ञराज पन्तका अनुसार बलात्कार र हत्या भएको साढे तीन महिनासम्म अनेकौं संघर्ष गरी दबाब दिँदा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि धर्ना बस्ने निर्णय भएको हो।

पीडितले अनिश्चितकालीन धर्नालाई आन्दोलनको निर्णायक चरणका रुपमा लिएका छन्। बाबु यज्ञराजले न्याय नपाएसम्म निरन्तर धर्नामा बस्ने बताएका छन्। गएको साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ को उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।

निर्मलाको बलात्कार र हत्याको अनुसन्धानको क्रममा प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त भैसकेका छन्।

महिला तथा मानवअधिकारकर्मीले उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दे आएका छन्।