सुदूरपश्चिम

सुदूरपश्चिममा कात्तिके जात्राको रौनक

बैतडी। तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा जात्राको रौनक शुरु भएको छ।

बैतडी सहित दार्चुला,डडेल्धुरा लगायतका जिल्लाहरुमा कार्तिक शुक्ल पक्ष लागेसँगै जात्राको रौनक शुरु भएको हो। कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरहरूमा जात्रा लाग्छ।  कार्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्छ।

दार्चुलामा रहेको राष्ट्रकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्छ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ।  त्रिपुरासुन्दरी भगवती मन्दिर,रौलाकेदार, शिवनाथ, महारुद्र लगायतका मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, भवानी मन्दिर, उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्छ।

यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चतुर्दशीका दिन जात्रा लाग्छ। परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए।

शरद ऋतु देवीदेवताहर”को पूजाआजा गर्ने समय भएकाले सुदूर पहाडका विभिन्न जिल्लाका शक्तिपीठहरुमा जात्रा लाग्ने लेखकको भनाइ छ ।  स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए।

जिल्लामा रहेका विभिन्न मन्दिरहरूमा रात्रि जात्रा सुरु भएसँगै जिल्लाका ग्रामीण वस्तीहरु दमाहा बाजाले गुन्जिन थालेका छन्।