लुम्बिनी

मधेसमा मनाइयो भैया दुज पर्व

बाँके ।  पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन यम द्वितीया अर्थात् भैया दुज पर्व मनाएका छन्।

शुक्रबार भुर्की पुजन गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाइ खुवाएर भैया दुज पर्व मनाएका छन्।  घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जङ्गलका चित्र बनाएर जङ्गलमा पाइने कुशलगायत विभिन्न काँडाहरु राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ ।

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाएर पूजा गरिन्छ। गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रूपमा भुर्की पुजन गर्छन् । त्यस क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी पनि सुनाउने चलन छ।  भुर्की पुजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ–आफनो दाजुभाइको सुख, शान्ति, उन्नति, सुस्वाथ्य, प्रगतिलगायतको कामना गर्छन्।

आज पूजा गरिने चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कार्तिक पूर्णिमासम्म पनि खुवाउने परम्परा छ।