खेलकुद

ओलम्पिक छनोट : नेपाल भारतसँग बराबरीमा रोकियो

काठमाडौं । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ।

म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन्। खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो। खेलको ११औँ मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन्।

त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्यायो। भारतका लागि कमलादेवी युम्नामले गोल गरिन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन।

दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्। यस खेलसँगै नेपाल र भारतले एक/एक अङ्क जोडेका छन्। भारतविरुद्धको खेलमा नेपालको यो दोस्रो बराबरी हो। यसअघि खेलेको आठ खेलमा नेपाल सात खेलमा पराजित भएको थियो भने एक खेल मात्र बराबरीमा सकिएको थियो।

सन् २०१६ मा भएको दक्षिण एशियाली खेलकूदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो। अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकूदअन्तर्गत पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’ र ‘बी’ मा पाँच/पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’ मा चार/चार टोली छन्।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन्। तेस्रो हुनेसमेत दोस्रो चरण पुग्नेछ। ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् ।

नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ।