समाचार

तिहारका सामानमा मनपरी मूल्य वृद्धि, अनुगमनको जिम्मा कसको ?

काठमाडौं । बजारमा अखाद्य सामग्रीको प्रयोग, व्यापारीको सिन्डिकेट तथा कार्टेलिङ र मनपरी मूल्य बढाएको सवालमा अनुगमन गर्ने निकायले अधिकार तल्लो तहमा गएको बताएको छ।

तिहारका सामग्रीहरूको अत्यधिक मूल्यवृद्धि भइरहको अवस्थामा बजार नियमन गर्ने निकाय वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागले खुद्रा पसलहरूको नियमनको जिम्मा पालिका(गाउँ\नगर)हरूको रहेको बताएको हो।

वाणिज्य तथा आपूर्ति हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले होलसेल पसलहरूमा आफूहरूले अनुगमन बढाए पनि खुद्रा पसलमा अनुगमन गर्न नसकेको बताएका हुन्। ‘हामीले ठूला पसलहरूमा अनुगमन गरेका छौँ तर, भित्रभित्रका खुद्रा पसलहरूमा भने पालिकारहरूले अनुगमन गर्ने हो’, गौचनले भने ‘खुद्रा पसलहरूमा धैरै मूल्य लिइएको गुनासो आएको छ’।

उनले आम उपभोक्ताले बजारमा देखिएको समस्याको विषयमा आफूहरूलाई पनि जानकारी गराउन आग्रह गरेका छन्। तिहारमा भाइमसला लगायतका सामाग्रीहरू अत्यधिक मूल्य वृद्धि भएको देखिएको छ। गत वर्षको तुलनामा न्युनतम ३५ देखि ३०० प्रतिशतसम्म मूल्यवृद्धि भएको देखिएको छ। यसै विषयलाई केन्द्रित गरेर ठूला पसलहरूमा विभागले अनुगमन बढाएको बताएका छन्।

अर्थविद् नवराज गौतम अस्वभाविक कारण देखाएर मूल्यवृद्धि भएको बताउँछन्। ‘मूल्य वृद्धि मनपरी गरिएको छ तर किन गरियो भन्यो भने डलरको मूल्य बढेको देख्नु भएन भन्छन्’, गौतमले भने, ‘कुन वस्तुमा डलरको प्रभाव कस्तो पर्छ भन्ने सवालमा जानकारी नै छैन।’ महानिर्देशक गौचनले निश्चित पसलमा अनुगमन गरेर अरूलाई सेचत गराउने नीतिअनुसार नै काम गरेको बताएका छन्।

सरकारी निकायको साल्ट ट्रेडिङले लेखा समितिको निर्देशनविपरीत ६८ रुपैयाँमा चिनी बेचिएको सवालमा सरकारले तोकेको मूल्यको आधारमा बिक्री भएको जानकारी गराए। योभन्दा पहिले अनुगमनको क्रममा आयातीत चिनीले बजार जमाउन थालेपछि व्यापारीहरूले ६३ रुपैयाँसम्म घाटा खाएर पनि चिनी बेच्‍न तयार भएको आधारमा लेखा समितिले मूल्य तोके पनि उद्योगीहरूले त्यो मूल्यमा उत्पादन गर्न नसक्दा समस्‍या भएको बताए।

उनले सरकारले तोकेको मूल्यको आधारमा नियमन गर्ने बताए।