बाग्मती

काठमाण्डौ पुलिसद्वारा दश लाख बढीको पटाका नष्ट

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले रु १० लाखभन्दा बढी मूल्यको अवैध पटाका नष्ट गरेको छ ।

टेकुस्थित परिसर हाताभित्र पत्रकार तथा स्थानीय नागरिकको रहोबरमा ती पटाका नष्ट गरिएको हो । प्रहरीले पटाका बिक्री वितरण गर्ने नौ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

पटाका पट्काउँदा आगजनी हुने, गम्भीर प्रकृतिका बिरामीलाई असर गर्ने र बालबालिका दुर्घटनामा पर्न सक्ने भएकाले ती पटाका बरामद गरी नष्ट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।

प्रहरीले काठमाडौँ महानगरपालिका–१० स्यूचाटारमा पसल सञ्चालन गर्ने सिन्धुलीको महेन्द्र झ्याडी गाउँपालिका–५ का ३५ वर्षीय दीपक ब्लोनलाई बिक्री गर्न राखेको दुई बोरा पटाकासहित नियन्त्रयणमा लिएको थियो । त्यस्तै भक्तपुरको ठिमी कटुञ्जे बस्ने तेह्रथुम सुदाप नगरपालिका–९ का २९ वर्षीय गजेन्द्र लिम्बूलाई जयबागेश्वरीबाट झिरझिरे पटाका चार प्याकेट र खुर्सानी पटाका १२३ प्याकेटसहित नियन्त्रणमा लिएको थियो ।