समाचार

महाकवि देवकोटाको साहित्य यात्रा स्मरण

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् ।

भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हुंदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वर्धन हुँदै गएको धारणा व्यक्त गरे ।

कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पारे ।

सोही कार्यक्रममा कुलपति उप्रेतीले श्रष्टा शान्ता पोखरेल अर्यालको मितेरी मन नामक कविता सङ्ग्रहको लोकार्पण गरे । उक्त कृतिमा ‘पिरतीको प्रतीक’, ‘पानी पँधेरो’, ‘आमा’, ‘शान्ति’, ‘प्रेमको निशानी,’ ‘धोका’, ‘मन’, ‘बुहारी’, ‘परिवर्तन’, ‘भाग्य’, ‘भावना’, ‘साहित्यको ढोका’, ‘वेदना’, ‘निःस्वार्थ’, ‘संस्कृति शीर्षक’का ६४ वटा समसामयिक कविताहरु समेटिएको छ । उक्त कविता सङ्ग्रहका बारेमा कृष्ण पोखरेलले समीक्षा प्रस्तुत गर्दै अधिकांश कवितामा प्रेम भाव झल्किएको र यसले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरेको बताए ।

समारोहमा उक्त कलेजका विद्यार्थीले भैलोसम्बन्धी नृत्यसहित गीत सङ्गीत प्रस्तुत गरेका थिए भने महाकविको सम्झनामा विभिन्न कविकवयित्रीले कविता वाचन गरेका थिए ।