खेलकुद

पीपीएलको फाइनलमा चितवन र पोखरा भिड्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ ।

पोखरा रंगशालामा हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज मध्ये कुनै टिमले पहिलो पटक आयोजना भएको पीपीएलको उपाधि जित्ला ? कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन र शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा आमनेसामने हुदैछन् ।

दुबै टिम उतिकै बलियो रहेका छन् । दुई टिमको लक्ष्य एकले अर्कालाई पराजित गर्दै सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिगको उपाधि उचाल्नु रहेको छ । यसअघि हिजो सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा पनि दुबै टिमका कप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।

लिग चरणको खेलमा भने पोखरा पल्टनले ५ विकेटले चितवनलाई पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

आजको फाइनल खेलमा भने कप्तान पारसको टिम चितवन बदला लिने दाउँमा छ तर पोखरा भने आफ्नो जितलाई निरन्तरता दिदै उपाधि उचाल्ने रणनीतिमा छ ।

यसअघि चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यता, पोखरा भने लिग चरणको खेलमा शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो । पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो ।

त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो ।

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।