पत्रपत्रिका

महासमितिको नयाँ मितिको तयारीमा कांग्रेस

काठमाडौं । ५ देखि ९ मंसिरका लागि तय महासमिति बैठक समयभित्रै गर्न नसक्ने भएपछि नेपाली कांग्रेसले केही साता सार्ने गरी नयाँ मितिको तयारी गरेको छ ।

नयाँ संरचनाअनुसारको पार्टीको विधानलाई तयार गरिरहेको कांग्रेसले विधानभित्रका कतिपय विषयमा नेताहरुबीच असहमति कायम रहेपछि महासमिति नै सार्ने तयारी गरिएको हो ।

नयाँ विधानमा नेतृत्वको अधिकार, निर्वाचन प्रणाली, पार्टी सदस्यता, केन्द्रीय समितिको आकारलगायतका विषयमा नेताहरुबीच असहमति रहँदै आएको छ ।

त्यसकारण, पूर्वनिर्धारित बैठक केही साताका लागि सर्न सक्ने संकेत गत शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले दिएका थिए ।

कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठकसमेत बोलाएको छ । सोही बैठकले महासमितिका विषयमा निर्णय लिने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।