पत्रपत्रिका

संघीय संसद्का पदाधिकारीकाे ब्रह्मलुट, ड्राइभरकाे समेत अाफै तलब बुझ्छन्

काठमाडौं ।  संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन्। धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन्।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समिति सभापति समेतले दुई जना चालकको सुविधा पाउँछन्। संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ। चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत् गरिन्छ।

हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ। तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एकजना मात्र  रहेकाे खबर गाेरखापत्र दैनिकमा छ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट कानुनी व्यवस्था नहुँदा पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी व्यवस्था गरिने गरिएको बताए।

पाण्डेले भने ‘हामीले अहिले पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी गर्दै आएका छौँ। को राख्ने कति राख्ने सबै उनिहरुकै स्वविवेकको कुरा हो। दुई चालक राख्ने सुविधा ऐनले दिएको छ।’ पदाधिकारीले सुविधा बुझ्नका लागि भने अनिवार्य रूपमा दुई चालककै नाम उपलब्ध गराउनुपर्छ। तर, सचिवालयको सवारी शाखाको रेकर्ड अनुसार गेटपासका लागि नाम दर्ता गर्ने सवारी चालक भने अधिकांश पदाधिकारीका एक मात्र छन्।

दुई जनाका दुई चालक 

सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी ने कपाका संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन्।

गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई चालक छन्। रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन्। नेकपाका संसदीय दलका सचेतक शान्ता चौधरीको पनि एकमात्र चालक छन्।

उनका चालकका रुपमा अर्जुन प्याकुरेलको नाम दर्ता छ। यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालका चालकका रूपमा बुदु खड्गीको नाम दर्ता छ। लेखा समिति सभापति भरतकुमार शाहका पनि एकमात्र चालक छन्।  नेकपाका राष्ट्रियसभा दलका अध्यक्ष दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईका पनि एक-एक जना चालकको मात्र दर्ता छन्।

यस्तै, विपक्षी दल कांग्रेसकी सचेतक सरिता प्रसाईँका तर्फबाट पनि एकमात्र चालकको नाम दर्ता छ। प्रसाईँका चालकका रुपमा मिङ्मा शेर्पा छन्। प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाका पनि एकमात्र चालक छन्। यस्तै, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलका पनि एकमात्र चालकले परिचयपत्र र पासका लागि नाम दर्ता गराएका छन्।

सचिवालयको रेकर्ड अनुसार प्रतिनिधिसभाको अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, विकास समिति सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, कृषि समिति सभापति पूर्णकुमारी सुवेदीका पनि एकमात्र चालक छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुका पनि एकमात्र चालक छन्। सचिवालयको रेकर्ड अनुसार जैरुका चालकका रुपमा कुमार रोका कार्यरत छन्।