लुम्बिनी

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नसार्न माग

बुटवल । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवल कार्यालय विराटनगर सार्ने सरकारको निर्णय पुनर्विचार गर्न रुपन्देहीका व्यवसायीले माग गरेका छन् । रुपन्देहीका व्यावसायिक सङ्घ संस्थाको बुटवलमा बसेको संयुक्त बैठकले प्रतिष्ठान उद्योगी व्यवसायीलाई अति आवश्यक भएकाले कार्यालय सार्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।

प्रादेशिक कार्यालयको रुपमा यसअघि नै स्थापना भएको बुटवल कार्यालयलाई अन्यत्र स्थानान्तरण गरी सानो युनिटको रुपमा रहेको नेपालगञ्ज शाखाले मात्र समग्र प्रदेशमा सेवा दिन नसक्ने भएकाले निर्णय सच्याउन आग्रह गरेको रुपन्देही उद्योग सङ्घका कार्यवाहक अध्यक्ष बाबुराम बोहराले जानकारी दिए ।

प्रतिष्ठान प्रदेश सरकार मातहतमा आइसकेको र आवको बजेट तथा कार्यक्रमको अख्तियारी पाइसकेका कारण यस कार्यालय प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई हस्तान्तरण गरी बुटवलमै राख्ने नीतिगत व्यवस्था गर्नसमेत बैठकले माग गरेको छ । करीब १० हजार उद्योग रहेको रुपन्देहीबाट औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यालय सार्ने निर्णयमा उद्योगी व्यवसायी सहमत हुन नसक्ने बोहराले बताए । व्यवसायीले केन्द्रीय सरकारको निर्णय सच्याउन पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।