गण्डकी प्रदेश

चाडपर्वका अवसरमा सुपथ मूल्यको पसल सञ्चालन

बागलुङ । साल्ट ट्रेड्रिङ्ग कर्पोरेसन लिमिटेड डिपो कार्यालय बागलुङले चाडपर्वका अवसरमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्ष्य गरी डिपोले चिनी तथा नुनको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । आजदेखि सञ्चालनमा आएको सो पसलको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले उद्घाटन गरे । “जनतालाई चाडपर्वका अवसरमा सहज होस् भन्दै ढिलै भए पनि सुपथ मूल्य पसल सञ्चालन गरेका छौँ,” कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले भने ।

यही कात्तिक २७ गतेसम्म सञ्चालन हुने सो सुपथ मूल्य पसलमा चिनी तथा नुन लिन आउने उपभोक्ताको भीड लाग्न थालेको छ । ग्राहकलाई सहज होस् भन्दै डिपोले यस वर्ष दुई किलोग्रामका प्याकेट बनाएर चिनी बिक्री गर्न थालेको छ । बजारमा प्रतिकिलो रु ७३ पर्ने चिनी डिपोले रु ६८ तथा रु २२ पर्ने नुन रु १८ मा बिक्री गरिरहेको छ । एक व्यक्तिले एक पटकमा तीन किलोग्राम नुन र ६ किलोग्राम चिनी किन्न पाउनेछ ।

साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय बागलुङले विगत १० वर्षदेखि चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । समयमै चिनीको मूल्य निर्धारण नहुँदा दशैँपछि मात्र सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।