लुम्बिनी

सिमेन्ट उद्योगमा धुलो मापन यन्त्र जडान

घोराही । घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई धुलो मापन यन्त्र जडान गरेको हो ।

स्थानीयवासीले मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका थिए । सो आयोगले वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएलगत्तै मन्त्रालयले प्राविधिक टोली धुलो मापन यन्त्र जडान गर्न पठाएको थियो । प्राविधिक टोलीले उद्योगबाट निस्केको धुलोको मापन थालेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए । सो टोलीले प्रदेश सरकार, घोराही उपमहानगरपालिका र धुलो प्रभावित क्षेत्रका नागरिकसँग सहकार्य र समन्वय गरी धुलो सङ्कलनका लागि उपकरण जडान गरेको हो । “प्रदूषण भए/नभएको जाँच गर्न नमूना सङ्कलन गरी मङ्सिर पहिलो साता भित्र रिपोर्ट सार्वजनिक गरिनेछ,” वातावरण निरीक्षक पौडेलले भने ।

अठार करोड लगानी

कृषि क्षेत्रमा पछिल्लो चार वर्षमा समूह तथा सरकारीमार्फत करीब रु १८ करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामार्फत जिल्लाका ७८ उपआयोजनामा सो लगानी गरिएको अनुगमन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार २४ समूह, ३६ सहकारी उद्यमी, २१ प्रशोधन तथा बजारीकरण आयोजनामा लगानी गरिएको छ । आयोजनाले फलफूलतर्फ केरा र मेवा, कृषि उत्पादनतर्फ मह, च्याउ, आलु, मसला, अदुवा र बेसार खेती तथा ती कृषि उपजको बजारीकरणका लागि पूरक अनुदानका रुपमा लगानी गरेको छ । आयोजनबाट पाँच हजारभन्दा बढी किसान व्यावसायिक बनेको शर्माको भनाइ छ । कार्यक्रमको स्वरुपअनुसार रु तीन लाखदेखि रु तीन करोडसम्म ती आयोजनामा लगानी गरिएको छ । “आयोजनामार्फत अर्को वर्षका लागि २० समूहमार्फत रु दुई करोड बराबरको कार्यक्रमका लागि सम्झौता भइसकेको छ । नौ सहकारीका लागि रु एक करोड ५० लाखको सम्भौता प्रक्रियामा रहेको छ,” शर्माले भने