अन्तर्राष्ट्रिय

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पको अग्निपरीक्षा

काठमाडौँ । संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो । हाल अमेरिकी दुवै सदनमा बहुमतमा रहेको रिपब्लीकन पार्टीले बहुमत जोगाउने कसरतमा सम्पूर्ण शक्ति लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवम् चुनावी मत सर्वेक्षणमा रिपब्लीकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने देखाएका छन् । अमेरिकी ४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा हाल रिपब्लीकन पार्टीको २३५ र डेमोक्र्याटिक पार्टीको १९३ स्थान छ । सात स्थान रिक्त छ । यस पटक यी सबै स्थानमा चुनाव हुँदैछ ।

तर १०० सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लीकन पार्टीको ५१, डेमोक्र्याटिक पार्टीको ४७ र स्वतन्त्र २ स्थान छ । अर्थात् सिनेटमा रिपब्लीकन पार्टीको बहुमत छ । यस चुनावमा ३५ स्थानका लागि मात्र चुनाव हुनेछ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ । यस चुनावमा डेमाक्र्याटिक पार्टीले प्रतिनिधित्व गरेका २३ स्थान, रिपब्लीकनले प्रतिनिधित्व गरेका आठ स्थान र स्वतन्त्र दुई स्थानका लागि चुनाव हुनेछ । साथै रिक्त भएका दुई स्थानमा पनि चुनाव हुनेछ । यसैगरी, अमेरिकाका विभिन्न ३६ राज्य र तीन वटा अधिकृत क्षेत्र (टेरिटोरिज) मा गभर्नर पदका लागि चुनाव हुँदैछ ।

चुनावको महत्व

अमेरिकी संसदको चुनावको नतिजा खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । यो चुनावमा संसद्मा रिपब्लीकन पार्टीले बहुमत गुमाएमा राष्ट्रपति ट्रम्पका धेरैवटा महत्वाकाँक्षी योजना अलपत्र पर्नेछन् । डेमोक्र्याटले बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिने र अन्ततः संसद्मा महाभियोगको प्रस्तावसम्म आउने अडकलबाजी भइरहेका छन् । त्यहीकारण राष्ट्रपति ट्रम्प दिनरात चुनावी प्रचारमा व्यस्त छन् ।

ट्रम्पले चुनावी सभामा खासगरी डेमोक्र्याट पार्टीका सबैजसो नीतिको कडा शब्दमा आलोचना गरेका छन् । खासगरी उदार अर्थव्यवस्था र आप्रवासी नीतिमा डेमोक्र्याटिक पार्टीले लिएका नीति मुलुकको अहितमा रहेको उनको ठम्याइ छ । होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढेको र तिनीहरुलाई डेमोक्र्याट्सले मद्दत गरेको उनको आरोप छ ।

अमेरिका प्रवेश गर्न चाहने यो समूहलाई रोक्न ट्रम्पले दक्षिणी सीमामा ठूलो संख्यामा फौज पठाएका छन् । उनले कुनै आप्रवासीले अमेरिकी सैनिकमाथि ढुङ्गामुढा गरे गोली चलाउने आदेश दिइएको बताए । अमेरिकामै रहेका आप्रवासीमाथि पनि डेमोक्र्याटले अनावश्यक संरक्षण दिएको ट्रम्पको भनाइ छ । अझ, ट्रम्पले आप्रवासीबाट जन्मने बालबच्चालाई अमेरिकी नागरिकता दिने विगतको अमेरिकी नीति खारेज गर्ने चेतावनीसमेत दिएका छन् । आप्रवासीका सम्बन्धमा आफ्ना नीतिको कार्यान्वयन गर्न ट्रम्पसँग संसदको बहुमत आफूसँग हुनुको विकल्प छैन ।

मतसर्वेक्षण

फाइनान्सीयल टाइम्सले गरेको पछिल्लो मतसर्वेक्षणमा अमेरिकी संसद्को दुवै सदनमा रिपब्लीकन पार्टीले झिनो बहुमत हासिल गर्ने सम्भावना रहेको देखाएको छ ।

अमेरिकी सिनेटमा यसपटक चुनाव हुने ३५ स्थानमध्ये २३ स्थान डेमोक्र्याट्स पार्टीका भएकाले डेमोक्र्याट्स पार्टीलाई आफ्नो स्थान जोगाउनुपर्ने चुनौती मात्र होइन रिपब्लीकन पार्टीले जितेका स्थान पनि जित्नुपर्ने चुनौती छ । फाइनान्सीयल टाइम्सका अनुसार डेमोक्र्याट्सले ४३ स्थानमा र रिपब्लीकनले ४९ स्थानमा विजयी हुने प्रबल सम्भावना छ । बाँकी ८ स्थानमा को विजयी हुन्छ, निर्णय गर्न कठिन रहेको बताइन्छ । डेमोक्र्याट्सले यसअघि सिनेटमा विजयी गरेका स्थानमा ट्रम्पले सन् २०१६ मा ठूलो विजय हासिल गरेकाले पनि डेमोक्र्याट्समाथि चुनौती बढेको हो ।

आर्थिक परिसूचक

राष्ट्रपति ट्रम्पले दाबी गरेझैं अमेरिकी अर्थतन्त्रमा ४।२ प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ, बेरोजगारी दर घटेको छ, र अमेरिकी अर्थतन्त्रको झलक दिने न्यूयोर्क स्टक एक्सचेन्जका परिसूचक सकारात्मक छन् । ट्रम्पले लिएका आर्थिक नीतिले अमेरिका र विश्वमै फेरि आर्थिक मन्दी आउने अर्थविदहरुको भनाइ रहेपनि त्यस्तो अनुमान सही रहेन । यो मध्यावधि चुनाव ट्रम्पका आर्थिक नीतिमाथिको जनमत सङ्ग्रहका रुपमा पनि हेर्ने गरिएको छ । ट्रम्पलाई रुचाउने मानिसको सर्वेक्षणमा रेटिङ ५० प्रतिशतभन्दा तलै छ, अर्थात् आधाभन्दा कम अमेरिकीले मात्र उनलाई रुचाएको देखिएको छ । रेटिङमा तलै परेपनि “राष्ट्रवादी” ट्रम्पको खरो र आक्रामक प्रस्तुतिले अन्तिममा मतदातालाई आफूतिर आकर्षित गर्ने सम्भावना छ ।

विभाजनकारी मनोदशा

अमेरिकी चुनावमा कतिपय नीतिलाई लिएर चर्को बहस, छलफल र विचारविमर्श हुनु अनौठो होइन । तर राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावी मनोदशा र प्रवृत्तिमै फरक शैली ल्याएको आरोप लाग्न थालेको छ । अमेरिकी समाजको जग नै विभक्त हुनथालेको अमेरिकी सञ्चार माध्यमको भनाइ छ । केही दिनअघि मात्र एकजना ट्रम्प समर्थकले डेमोक्र्याट्स पार्टीका सबै शीर्ष व्यक्ति र पूर्व राष्ट्रपतिका घर एवं सिएनएनको कार्यालयमा हुलाकमार्फत बम पठाएर आतङ्कित बनाए । अर्का एक व्यक्तिले यहूदी विरोधी नीतिको अन्ध समर्थन मात्र गरेनन् पिट्सबर्गमा १२ जना यहूदीको गोली हानी हत्या समेत गरे । गोराको बर्चश्व अमेरिकामा गुम्दै गएकाले त्यसलाई पुनर्जीवित तुल्याउनु पर्दछ भन्ने समूहले बेलाबखत अमेरिकाभर नै जुलुस निकाल्न थालेको छ, र त्यसलाई ट्रम्पले खुलेआम समर्थन गरेका छन् । कैयौं प्रबुद्ध व्यक्ति, सेलिब्रेटी, विपक्षी नेता, आलोचक र मिडियामाथि उनले दिनरात ट्वीटमार्फत् गर्ने कटाक्षले अमेरिकी समाजको आधारभूत सिद्धान्त र मान्यतालाई नै कठघरामा उभ्याएको छ ।