पर्यटन/संस्कृति

शुक्लाफाँटा चार वर्षमा दश हजार पर्यटक

भीमदत्तनगर । विश्वकै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुन सकेको छैन । बितेको चार वर्षमा १० हजार ४४५ आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।

दुई हजार ३०० भन्दा बढी बाह्रसिङ्गा देख्न पाइने शुक्लाफाँटामा मुलुककै सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटर फैलिएको विशाल घाँसे मैदानसमेत रहेको छ । जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गीले भरिपूर्ण यस निकुञ्जमा सोचे जति पर्यटक भने अवलोकनका लागि आउँदैनन् ।

छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीसमेत दूरीका हिसाबले नजिक पर्छ शुक्लाफाँटा तर पश्चिमका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पर्यटकको रोजाइ पोखरा, चितवन र बर्दियालगायतका स्थान परेपनि शुक्लाफाँटाका बारेमा पनि कमै जानकार हुने गरेको अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिए ।

“यहाँबाट मुलुकभित्र भित्रिने तेस्रो मुलुकका पर्यटक सोझै पोखरा, चितवन, काठमाडौँ जाने बढी हुन्छन्” उनले भने, “सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा कमी छ ।” यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि गड्डाचौकीमा राखिएको नेपाल पर्यटन बोर्डको कार्यालय चार वर्षदेखि प्रमुखविहीन छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यहाँको पर्यटकीय क्षेत्र भएपनि प्रचारप्रसारको कमीले पर्यटक कम सङ्ख्यामा भित्रिने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको हालसम्म ३२६ जना पर्यटक शुक्लाफाँटा भित्रिएका छन् । गत आव २०७४÷७५ मा यहाँ चार हजार ७४० पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए । त्यसैगरी आव २०७३÷७४ मा दुई हजार ६४०, आव २०७२÷७३ मा एक हजार ९२० र आव २०७१÷७२ मा ८२४ ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२० भित्र मुलुकमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेका बेला सुदूरपश्चिम प्रदेशको मुख्यद्वारमै रहेको शुक्लाफाँटा निकुञ्जका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा यहाँका पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी परमानन्द भण्डारीले पनि विगत लामो समयदेखि शुक्लाफाँटामा पर्यटक भित्र्याउन निकै पहलरत छन् । उनले शुक्लाफाँटा–रारा, शुक्लाफाँटा–खप्तड प्याकेज सञ्चालन गरेका थिए । “भारतका थुप्रै पर्यटकीय स्थल यहाँबाट नजिक छन्, त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउने खालको वातावरण मिलाउन सके धेरै फलदायी हुन्छ ।” पर्यटन व्यवसायी भण्डारीले भने, “सरकारी तवरबाटै शुक्लाफाँटाको भरपुर प्रचारप्रसारका लागि पहल गर्नु आवश्यक छ ।”