बाग्मती

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

काठमाडौँ । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचवटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई आज आर्थिक सहयोग प्रदान गरेको छ । ललितपुर महानगरपालिकाले आज पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन क्लब र दुई ‘सी’ डिभिजन क्लबलाई रु ६१ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

महानगरपालिकाले ललितपुरका पाँच ‘ए’ डिभिजन क्लब थ्री स्टार, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबलाई समान रु चार/चार लाख प्रदान गरेको हो । थ्री स्टारलाई भने थप रु २८ लाख प्रदान गरेको छ । गत वर्ष सातवटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधिबापतको रु चार लाखका दरले थ्री स्टारलाई रु २८ लाख थप सहयोग प्रदान गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

थ्रीस्टारले गत वर्ष सहभागिता जनाएका १६ प्रतियोगितामध्ये सातवटाको उपाधि जितेको थियो । यसका साथै क्लब र महानगरबीच फुटबलको विकासका लागि वार्षिकरुपमा सहयोग गर्ने गरी सम्झौता पनि भएको छ । यस्तै महानगरपालिकाले ‘बि’ डिभिजनका सातदोबाटो युथ क्लब, खुलमलटार युथ क्लब, झम्सिखेल युथ र पुल्चोक युथ क्लबलाई समान तीन/तीन लाख उपलब्ध गराएको छ । त्यस्तै ‘सी’ डिभिजनका दुई क्लब खालीबारी युथ क्लब र सानेपा युथ क्लबलाई रु दुई/दुई लाख प्रदान गरेको छ ।

आज महानगरद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, महानगरका प्रमुख चिरिबाबु महर्जनले सहयोग रकम क्लबलाई हस्तान्तरण गरे । सो अवसरमा फुटबलको विकासका लागि स्थानीय तहले अग्रसरता देखाउनु सकारात्मक भएको बताउँदै सदस्य सचिव विष्टले भने, “खेलकूदको विकासका लागि राजनीतिक अग्रसरता हुनु सरहानीय छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताए। प्रमुख महर्जनले भने, “खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौँ, सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ।” यसअघि काठमाडौँ महानगरले पनि जिल्लाका छवटा ए डिभिजन क्लबलाई वार्षिक रु १० लाख दिने घोषणा गरिसकेको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मा प्रस्थान

ओलम्पिक महिला फुटबल छनोट प्रतियोगितामा सहभागिता जनाउन राष्ट्रिय महिला फुटबल टोली म्यान्मा प्रस्थान गरेको । एकसाता चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली चीनबाटै शुक्रबार साँझ म्यान्मा प्रस्थान गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिए । चीन बसाईमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । बेइजिङ फोनिक्सविरुद्धको दुई मैत्रीपूर्ण खेलमा नेपाल पहिलोमा ४–१ तथा दोस्रोमा २–१ ले पराजित भएको थियो । बेइजिङ स्पोर्टस् युनिभर्सिटीविरुद्ध नेपाल ३–० ले विजयी भएको थियो ।